NRN
नेकपा एसमा घनश्याम भुसाल पक्षका ७ पदाधिकारी विजयी

नेकपा एकीकृत समाजवादीको पदाधिकारी निर्वाचनबाट कम्तीमा ७ जना नेता महासचिव घनश्याम भुसालको लिस्टबाट विजयी भएका छन् । भुसाल पक्षले मतदानका बेला बाँडेको लिस्टबाट ७ जना पदाधिकारी विजयी भएका हुन् ।

मतदानका बेला अध्यक्ष माधव नेपाल पक्ष र महासचिव घनश्याम भुसाल पक्षबाट फरक फरक लिस्ट बाँडिएको थियो । केही नेता दुवै लिस्टमा परेका थिए । सम्मानित नेता झलनाथ खनालको समर्थन भुसाल पक्षमा थियो ।

भुसाल पक्षबाट उपाध्यक्ष जयन्ती राई, धर्मनाथ साह, प्रकाश ज्वाला र भानुभक्त जोशी निर्वाचित भएका छन् । ज्वाला र जोशी दुवैको लिस्टमा थिए । त्यस्तै उपमहासचिवमा भुसाल पक्षबाट गरिमा शाह मात्र निर्वाचित भएकी छन् ।

सचिवमा भुसाल पक्षबाट चन्द्रबहादुर शाही र बलदेव चौधरी निर्वाचित भएका छन् भने गणेश विक दुवै पक्षको टिममा थिए ।

घनश्याम भुसालको टिममा परेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य भने पराजित भएका छन् ।

पोलिटब्युरोमा पनि माधव नेपाल पक्षले बेग्लै लिस्ट बाँडेको थियो भने भुसालको पनि फरक छ । धेरै नेता दुवै लिस्टमा परेका छन् । २०२ जना पोलिटब्युरो सदस्यको मतगणना दिउँसो हुँदैछ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update