NRN
नेपाललाई पराजित पार्दै बंगलादेशले जित्यो साफ यू–२० च्याम्पियनसिपको उपाधि

नेपाललाई पराजित पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार भएको उपाधि भिडन्तमा बंगलादेशसँग ४-१ गोलले विजता भएको हो । बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिँदा दोस्रो हाफको सुरूवाती समयमा नेपालमाथि लगातार दबाब दिएको थियो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा बंगलादेशका लागि मिराजुल इस्लामले फ्रिकिकमा उत्कृष्ट गोल ग । डिबक्स बाहिर प्राप्त फ्रिकिकमा उनले दोस्रो बार च्यापेर हानेको प्रहार पोलमा लागेर जाली चुमेको थियो ।

त्यसअघि राम थापाले मिराजुललाई लडाएपछि बंगलादेशले फ्रिकिक पाएको थियो ।

५५ मिनेटमा मिराजुलले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे । उनले सिक्स यार्डमा प्राप्त पासमा हेडमार्फत गोल गरेका थिए ।

७१ मिनेटमा बंगालदेशले तेस्रो गोल गर्‍यो । रोबी हुसनेले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दा सातदोबाटोमा खेल हेर्न उपस्थित नेपाली दर्शक स्तब्ध बनेका थिए ।

नेपालले ८१ मिनेटमा गोल फर्काउन सफल भयो। नेपालका लागि समिर तामाङले गोल गरेका थिए ।

१० मिनेट थपिएको दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा बंगलादेशले चौथो गोल गर्‍यो । उसका लागि अहमेद नोभाले डिबक्स भित्रबाट बललाई गोलपोस्टको दिशा दिएका थिए ।

सन् २०१५ र २०१७ को विजेता नेपालको तेस्रो उपाधि जित्ने अभियान भने सफल भएन । यसअघि तीन पटक उपविजेता भएको बंगलादेशले भने चौथो प्रयासमा उपाधि जितेको हो । बंगलादेश यसअघि २०१७, २०१९ र २०२२ मा उपविजेता बनेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update