NRN
एआइजी ज्ञवालीसहित पाँच प्रहरीहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा

नेपाल प्रहरीका एआइजी श्यामलाल ज्ञवालीसहित पाँच जना प्रहरी कर्मचारीको रिटको सुनुवाइ न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा हुने भएको छ ।

उमेर हदका कारण अवकाशमा जान लागेका पाँच जना प्रहरीले अवकाश कार्यान्वयन नगर्न माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटको पेशी बिहीबार न्यायाधीश सुवेदीको इजलासमा परेको हो ।

प्रदेश समन्वय विभागका प्रमुख ज्ञवाली, मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल, अन्य दुई जना डीआईजी केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधवार रिट दायर गरेका थिए । 

नेपाल प्रहरीमा तीन तरिकाले अवकाशमा जान्छ । प्रहरी नियमावली २०७१ अनुसार एआइजी र डिआइजीहरू ५६ वर्षको उमेरमा अवकाश जाने उल्लेख छ । 

उमेर हदकै कारण एआइजी ज्ञवाली भदौ २६ गते अवकाशमा जान लागेका हुन् । प्रहरी निरीक्षक भने ५३ वर्षको उमेरमा अनिवार्य अवकाश जाने नियमावलीमा उल्लेख छ ।

३० वर्षे सेवा अवधिकै कारणले प्रहरी अधिकारीहरू अवकाशमा जान लागेको भन्दै नेपाल प्रहरीका २१ जना प्रहरी कर्मचारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । भदौ ६ गते उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालले तत्काललाई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेका थिए ।

अन्तरिम आदेश जारी भएपछि सशस्त्र प्रहरीका १२ जना कर्मचारीहरू पनि सर्वोच्च पुगेका थिए । न्यायाधीश सारङ्गा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १२:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update