अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु एन्फाको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिका स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ ।
खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा कूल १० टोलीको सहभागिता रहनेछ । महिला लिगमा एपीएफ एफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, संकटा एफसी र बागमती युथ क्लब छन् ।
उद्घाटन खेलका लागि दर्शकलाई नि:शुल्क प्रवेशको व्यस्था गरिएको एन्फाले जनाएको छ ।
महिला लिगको पहिलो चरणमा सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ । पहिलो चरणपछि शीर्ष पाँच टोली अर्को चरणमा प्रवेश गर्नेछन् । जहाँ पाँच टोलीबीच डबल राउण्ड रोविनका आधारमा सुपर लिग खेल्नेछन् । लिगमा कूल ६९ खेल हुनेछ ।
महिला लिगको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले १-१ लाख तथा उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ गर्ने छन् ।
लिगमा अनुमानित बजेट २ करोड २४ लाख ६८ हजार ६ सय ९८ रुपैयाँ रहेको एन्फाले जनाएको छ ।