NRN
साविककै पदीय हैसियतमा काम गर्न पाउँ भन्दै ढकालले गरे रास्वपामा पुनरावेदन

महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णयविरूद्ध डा. मुकुल ढकालले पार्टीमा पुनरावेदन दिएका छन् ।आइतबार उनले महामन्त्री पदमा बहाली होस् भन्दै पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेको जानकारी दिएका हुन् ।

पार्टी हित, आचरण प्रतिकूल हुने गरी कार्य गरेको भन्दै ढकाललाई असार २५ गते निलम्बन गरिएको थियो । साथै भदौ ११ गते राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई साधारण सदस्यबाट समेत बर्खास्त गरिसकेको थियो ।

तथापि पार्टीले गरेको निर्णयअनुप र विधानको धारा ५७ अनुसार महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निर्णय पुनरवलोकन गर्न आफूले पुनरावेदन दिएको ढकालले बताएका छन् ।

उनको निवेदनमा,  'आफूलाई हटाउने निर्णय दलसम्बन्धी कानून र पार्टीको विधान बमोजिम नरहेको दाबीसहित रास्वपामा ढकालले पुनरावेदन दिएका छन् । ‘…पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रीय समितिको सदस्यबाट पदमुक्त गर्नेगरी भएको मिति २०८१/०३/२५ को कथित निर्णय त्रुटिपूर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिमकै पदीय हैसियतमा रही पार्टीमा काम गर्ने बातावरण मिलाइपाउँ’, भनिएको छ ।

महामन्त्रीको हस्ताक्षर बिना सभापतिले मात्र कुनै पनि पदाधिकारी हटाउने निर्णय गर्न नसक्ने पनि दाबी गरेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update