NRN
हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले गरे बहिष्कार

कर समायोजनको लागि विशेष नगरसभाको मिति तोक्न आज बोलाइएको हेटौंडा उपमहानगरको कार्यपालिका बैठक नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित उपमेयर राजेश बानियाँसहित ८ जना वडाध्यक्षले बहिष्कार गरेपछि मेयर मीनाकुमारी लामाले कार्यपालिका बैठक स्थगित गरेकी छन् ।

२९ सदस्यीय कार्यपालिकामा आज बिहीबार बिहान ८ बजेलाई तय भएको बैठकमा १६ जना सदस्य उपस्थित थिए ।

नेपाली कांग्रेसबाट निर्वाचित एक वडा अध्यक्षले पार्टीमा कर समायोजनको विषयमा छलफल जारी रहेकाले आज बोलाइएको बैठकमा उपस्थित नभएको जानकारी दिए । करको दर घटाउने विषयमा आवश्यक छलफलबाट मात्रै टुंगिने उनको भनाइ छ ।

बहुमत पुग्दा पनि मेयर लामाले एक पक्षीय रूपमा बैठक स्थगित गरेको भन्दै विशेष नगरसभा माग गरेका नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरूले आपत्ति जनाएका छन् । हेटौंडा-४ का वडाध्यक्ष नवीन सिग्देलले उपमेयरसँग छलफल गरेर मात्रै अर्को बैठक तय गर्ने बताएर मेयरले एकपक्षीय तरिकाले बैठक स्थगित गरेको बताए ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा साउन अन्तिममा कर वृद्धि विरूद्ध चरणबद्ध आन्दोलन भएको थियो । ३२ साउनमा व्यवसायीसँग उपमहानगरले कर वृद्धिको निर्णय फिर्ता लिनेसहित ८ बुँदे सहमति गरेको थियो ।

त्यसको दुई दिन अघि ३० साउनमा नेकपा एमालेका बहुमत नगरसभा सदस्यले कर समायोजन गरेर समस्या समाधानका लागि विशेष नगरसभा माग गर्दै मेयर लामालाई लिखित अनुरोध गरेका थिए ।

कानुनतः ३० दिनभित्र विशेष नगरसभा बोलाउनु पर्नेहुन्छ । ३० भदौभित्र विशेष नगरसभा बोलाउनु पर्ने दबावमा मेयर लामा छिन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update