NRN
दुखद खबर : राजमान थकाली अब हामीबीच रहेनन्

- राजन घिमिरे  

ब्यबहार मात्र मिजासिलो होइन । सहयोगी मन र नेपाली समुदायलाई साथमा साथ र हातमा हात दिंदै आएका सज्जन ब्यक्ति थिए राजमान थकाली । पुरा अष्ट्रेलिया राजमान दाईको नामले चिनिनु हुने राजमान थकाली अब हामीबीच रहेनन । अष्ट्रेलियामा नेपाली थकाली खाना भित्र्याएर नेपाली स्वाद र परिकारलाई बिस्तार गर्ने मामिलामा उदाहरण पेश गरेका थिए उनले । अष्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाउदै आएका युबा  व्यवसायी राजमान थकालीको ५० बर्षको उमेरमा शनिवार निधन भएको छ ।

अष्ट्रेलियाको नेपाली समुदायमाझ सरल, सहयोगी र  कर्मयोगिको छबि बनाएका थकाली लामो समयदेखि फोक्सोको रोगबाट पिडित थिए । थकाली खानाका परिकारलाई अष्ट्रेलिया भित्र्याउने काम गरेका थकालीले सिड्नीको टाउनहलमा सन् २०११ मा मुग्लान रेस्टुरेण्ट खोलेका थिए । अहिले मुग्लान रेस्टुरेण्ट र मुग्लान ग्रोसरी पसल  सिड्नीका बिभिन्न ठाउँमा संचालनमा रहेका छन् । उनी हिमाअस कन्सल्टेन्सी र मलबेरी इन्स्टिच्यूटका संचालक समेत हुन।  

सन् १९९६ मा उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका राजमान थकाली अष्ट्रेलियाको  नेपाली समाजमा सामाजिक अभियन्ताको रुपमा चिनिन्छन। खेलकुदमा बिशेस रुचि राख्ने थकाली सहारा क्लब अष्ट्रेलियाका संस्थापक अध्यक्ष समेत हुन । खेलकुदले नेपाली समाजलाई एकाकार बनाउने थकालीको योगदान आफैंमा महत्वपूर्ण छ । उनका श्रीमती र २ जना छोराहरु छन् । एनआरएन टिभी शो डटकमलाई स्थापनाकाल देखि नै साथ र  सहयोग गर्दै आएका सफल ब्यबसायी थकालीको निधनप्रति एनआरएन टि भी शो डट कम परिवार गहिरो दुख ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समबेदना व्यक्त गर्दछ ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update