NRN
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनसहित दुई जना पक्राउ

अवैध रूपमा भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्यूठान सरूमारानी गाउँपालिका वडा नम्बर १ बाङ्गेसारका ३१ वर्षीय समीर अहमद र खोटाङ दिपरूङ गाउँपालिका वडा नम्बर ५ घर भएका ३० वर्षीय देवराज खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । 

समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका थिए । काठमाडौं आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन जस्तो देखिने धातुको ढिक्का १ थान, बेरूवा औंठी १ थान, मोबाइल १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

साथै बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान, मोबाइल २ थान र ल्यापटप १ थान सहित फेला पारी देवराजलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update