NRN
उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै रास्वपाकाे आपत्ति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभुखबाट इन्दिरा रानालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउने विषयमा आपत्ति जनाएका हुन् ।

‘माननीय उपसभामुखलाई महाअभियोग लगाउने जस्तो कुरामा राजनीतिक पार्टीहरु बसेर छलफल गर्ने कुरा लोकतन्त्रका लागि कहिले पनि मान्य हुने छैन’ उनले भने । संवैधानिक परिषदमा सत्तापक्षको बहुमत पुग्दैन भन्ने नाममा उपसभामुखलाई हटाउन खोजिनु लोकतान्त्रिक हुन नसक्ने सांसद परियारले बताए ।

‘आज सम्मानित पदलाई परिषदलाई आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका र आफूलाई लोकतन्त्रको मसिहा भन्ने पार्टीहरु गुपचुप सल्लाह गरेर उपसभामुखलाई पदबाट हटाउने जुन कर्म गर्ने तयारी गर्दै हुनुहुन्छ । स्मरण रहोस्– राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पद गुमाउला तर लोकतन्त्रका लागि सधैं लड्नेछ, जनताको पक्षमा लड्नेछ’, उनले भने ।

राज्य व्यवस्था समितिमा समेत यो विषयमा उजुरी रहेको उल्लेख गर्दै सत्तारुढ दलहरूले हटाउने तयारी गरेको छ । यस सम्बन्धमा रास्वपाले आपत्ति जनाएको हो ।

प्रमुख सचेतक परियारले अहिले सहज छ भनेर कसैलाई हटाउने र अर्को व्यक्ति लैजाने गर्दा भविष्यमा आफैंलाई अप्ठ्यारो पर्न सक्नेतर्फ सचेत हुन कांग्रेस-एमालेलगायत सत्तारुढ दललाई आग्रह गरे ।

‘… एक वर्ष तपाईंले जित्नुहोला, दुई वर्ष तपाईंले जित्नुहोला । स्मरण रहोस् तपाईंहरूले आफैले खनेको खाल्डोमा आफैँ पर्नुहुनेछ । यो पनि लेखेर राख्नुस्’ परियारले भने ।

संख्याका आधारमा जे पनि गर्न सकिन्छ भन्ने हो भने जनताको साथ खोजिने उनले चेतावनी दिए ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुखले पद अनुकुलको आचरण नगरेको भनेर प्रश्न उठेको बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update