NRN
रिक्त सबै संवैधानिक पदमा सिफारिस गर्न अध्यक्ष प्रचण्डको आग्रह

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिक्त सबै संवैधानिक पदमा सिफारिस गर्न आग्रह गरेका छन् ।बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा पूर्वप्रधानमन्त्री प्रचण्डले साे आग्रह गरेका हुन् ।

बिहीबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।

उक्त छलफलमा भोलि (शुक्रबार) बस्ने संवैधानिक परिषद् बैठकको तयारी स्वरूप भएको प्रचण्डलको सचिवालयले जानकारी दिएको छ । बैठकमा अध्यक्ष प्रचण्डले संवैधानिक निकायमा सम्भव भएसम्म भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा राखेको सचिवालयले जानकारी दिएको हो ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बुधबार बोलाएको बैठक अन्तिम समयमा स्थगित भएको थियो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १८ गतेदेखि अवकाश पाउँदैछन् । नयाँ प्रधानन्यायाधीशको संसदीय सुनुवाइ पनि गर्नुपर्ने प्रावधान छ ।

यसअघि नै न्यायपरिषदले ८ जना सम्भावित न्यायाधीशहरूको सूची संवैधानिक परिषदलाई पठाइसकेको छ । संवैधानिक परिषदले अरू तीन वटा पदमा सिफारिस गर्नुपर्नेछ ।

निर्वाचन आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगमा एक–एक वटा पद रिक्त छ। तर आजको बैठकमा तीन वटै आयोगको एजेण्डा समावेश गरिएको छैन ।

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update