NRN
सोमबार पनि नेप्सेमा उच्च अंकको गिरावट

सोमबार पनि नेप्सेमा उच्च अंकको गिरावट आएको छ । सोमबार नेप्से २.१६ प्रतिशतले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ ।

आइतबार ५०.७३ र सोमबार ५७.०३ अंक यो दुई दिनमा सेयर बजार १०७ अंकले घटेको छ । यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि गिरावट आएको छ ।

यसदिन सात अर्ब ३६ करोड रूपैयाँको कारोबार भएको छ । आज ३१२ वटा धितोपत्रको एक करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच भएको हो ।

सोमबार १४ कम्पनीको सेयर मूल्य बढेको छ भने २२७ वटाको घटेको छ । यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

यसदिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य पाँच हजार ५०० रूपैयाँ कायम भएको छ । यसैगरी, हिमालयन हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ५१४ रूपैयाँ २० पैसा कारोबार भएको छ ।

यस्तै, गुडविल फाइनान्सको मूल्य सर्वाधिक ९.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९४५ रूपैयाँमा झरेको छ । थ्री स्टार हाइड्रोपावरको मूल्य ९.३६ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८४८ रूपैयाँ कायम भएको छ ।

सोमबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ९५१ रूपैयाँमा ३१ करोड ११ लाखको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४.१३ प्रतिशत घटेको हो ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ५६३ रूपैयाँमा २७ करोड ४२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।

यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ भने दोस्रोमा व्यापार समूहको परिसूचक २.७६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update