NRN
श्रममन्त्री शरतसिंह भण्डारी जापान उड्दै

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जापान जाने भएका छन् । जापानको टोकियोमा असोज ३ गते हुने जापान–नेपाल रोजगार सम्मेलनमा भाग लिन भण्डारी आज साँझ जापान जाने भएका हुन् ।

मन्त्री भण्डारीले असोज ३ गते टोकियोस्थित नेपाली दूतावास र जापान एसोसिएसन फर द इम्प्लोइमेन्ट अफ फरेन नेसनलको संयुक्त आयोजनामा हुने जापान-नेपाल रोजगार सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

जापान-नेपाल रोजगार सम्मेलनमा म्यानपावर व्यवसायी पनि सहभागी हुँदैछन् । सम्मेलनको उद्देश्य श्रम सम्झौताअनुसार कामदार पठाउन पहल र रोजगारदाता कम्पनीलाई नेपाली कामदारबारे जानकारी गराउनु रहेको श्रममन्त्री भण्डारीले बताए ।

नेपाल र जापान सरकारबीच सन् २०१९ मा सरकारीस्तरमा श्रम सम्झौता भएको थियो । स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) अन्तर्गत नेपाली श्रमिक लैजाने गरी श्रम सम्झौता भएको हो । जापान नेपाली कामदारको आकर्षण र भरपर्दो रोजगार गन्तव्य देश बनाउन सरकारले प्रयास गरिरहेको मन्त्री भण्डारीले बताए ।

पछिल्लो समयमा व्यक्तिगत श्रम स्वीकृतिमा रोजगारीका लागि जापान जाने नेपालीको संख्या बढ्दो छ । जापानमा ८० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको अनुमान वैदेशिक रोजगार विभागको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update