NRN
कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।

नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सो पार्टीले समर्थन फिर्ता लिएसँगै दोश्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

विश्वासको मत प्रयोजनका लागि दिउँसो १ बजेका लागि प्रदेशसभा बोलाइएको छ।

माओवादीले गत भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।  संविधानको धारा १६८ (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

समीकरण परिवर्तनसँगै कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी भएको छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने कांग्रेसका २९ सांसद रहेका छन् ।

कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद गरी ९३ जना सांसद छन् । बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update