NRN
आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदै

आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । संघीय राजधानी काठमाडौँस्थित सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ । 

बिहीबार बिहान सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो । 

संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो। 

उक्त समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । 

समारोहमा नेपाली सेना र नेपाल प्रहरीले विभिन्न कलाकौशल प्रस्तुत गरेको थियो । राष्ट्रपति पौडेललाई नेपाली सेनाले सम्मानस्वरूप गार्ड अफ अनरसमेत प्रदान गरेको थियो । सेनाको हेलिकप्टरबाट पुष्पवृष्टी गरिएको थियो । 

संविधान दिवसका अवसरमा सरकारले देशभर दिपावली गरी भव्यताका साथ मनाउन आह्वान समेत गरेको थियो। 

संविधान दिवसकै अवसरमा बिहीबार साँझ नागरिक तहबाट काठमाडौँको दरबारमार्गमा विशेष सांगितिक प्रस्तुतीसहितको कन्सर्ट आयोजना गरिँदैछ ।  

नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि.स‌ं २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । 

३५ भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात् गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update