NRN
संविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि खुल्यो धरहरा

संविधान दिवसको अवसर पारेर सर्वसाधारणको लागि आजदेखि धरहरा खुला गरिएको छ । 

गएको भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार तत्काल अस्थायी रुपमा असोज ३ गते संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको हो ।

शहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा खुलाएको धरहरा केही समय भने नि:शुल्क चढ्ने व्यवस्था मिलाइएको छ । आज बिहानैदेखि धरहरा चढ्न सर्वसाधारणको भिड लागेको छ ।

मन्त्रालयको शहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यसको व्यवस्थापनको जिम्मा पाएको छ । 

अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले नि:शुल्क धरहरा चढ्न पाउने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । वेबसाइटबाटै इन्ट्री गर्न मिल्ने, बुक गर्न मिल्ने, क्यूआर कोड लिन मिल्ने व्यवस्था हुँदै गरेको छ ।प्रत्येक दिन ६ सयजनाले धरहरा चढ्न पाउनेछन् । विभागका अनुसार त्यसमध्ये १ सय कोटा वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्याइएको छ । प्रत्येक एक घण्टा सय जनाले चढ्ने गरी व्यवस्था मिलाइएको छ ।

धरहरा निर्माणको करिब ५ प्रतिशत काम भने अझै बाँकी छ । ठेकेदार कम्पनीले पूरा काम सकाएर हस्तान्तरण गरेपछि मात्र यसको सञ्चालन प्रक्रिया टुंग्याइनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षअघि नै निर्माणाधीन अवस्थामै धरहराको उद्घाटन गरेका थिए । पुनः धरहरा उद्घाटन गर्ने कार्यक्रम नरहेको विभागले जनाएको छ ।

२०७२ सालको भूकम्पमा बचेको धरहराको बाँकी संरचनालाई पानी, हावाहुरीले नबिग्रने गरी संरक्षण गरिएको छ । त्यस भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिएको छ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाऊन् भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाइएको हो ।

भूकम्पले क्षति पुर्‍याएको तीन वर्षपछि २०७५ पुस १२ मा आधुनिक धरहरा निर्माणको शिलान्यास भएको थियो ।

भीमसेन थापाले काठमाडौंको सुन्धारामा विक्रम संवत् १८८२ मा ११ तलाको धरहरा निर्माण गरेका थिए । १९९० को भूकम्पले त्यो धरहरामा क्षति पुगेपछि राणा प्रधानमन्त्री जुद्ध शम्शेरले ११ तलाबाट झारेर नौ तले बनाए ।

नयाँ धरहरा २२ तलाको भूकम्प प्रतिरोधात्मक छ । नयाँ धरहरा पुरानो धरहराका बाँकी अंश रहेको क्षेत्रबाट करिब १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा छ । साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गजुरसहितको नयाँ धरहराको उचाइ ७७ मिटरको छ । धरहरा परिसरमा बगैंचा, संग्रहालय, प्रदर्शनी कक्ष, पुस्तकालय, पार्किङ स्थल, क्याफे र व्यापारिक पसल सञ्चालनमा आउनेछ । धरहरा परियोजनाअन्तर्गत यात्रु प्रतीक्षालय तीन महिनाअघि नै सञ्चालनमा आइसकेको छ ।

धरहरामा पहिलाको जस्तै भर्‍याङसँगै दुईवटा लिफ्ट छन् । त्यसैले यो धरहराको मोटाइ पहिलाको धरहराभन्दा ठूलो छ ।

यस्तै धरहराभित्रको बेसमेन्टको पार्किङ पनि काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याइसकेको छ । यहाँ ३५० वटा गाडी र ६ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update