NRN
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली अहिले बिहान साढे ११ बजे कतार एयरलाइन्सबाट अमेरिकाको न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गरेका हुन् ।

यही असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।

प्रधानमन्त्री असोज ८ गते महासभाको साधारण बहसको उद्घाटन सत्र र असोज ९ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

उनले असोज १० गते महासभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।

साथै, उनले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नेछन् ।

उनले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी पनि छन् ।

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update