NRN
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच आज भेटवार्ता हुँदै

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आज (आइतबार) साँझ भेटवार्ता हुने भएको हो ।

उनीहरूबीच स्थानीय समयअनुसार साँझ साढे पाँच बजेदेखि ६ बजेसम्म होटेल लोटे न्युयोर्क प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता हुने प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । मोदी उक्त होटेलमा बसिरहेका छन् । 

ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय प्रधानमन्त्रीसँग पहिलोपटक भेट हुन लागेको हो । यसअघि थाइल्यान्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो ।

प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध तिक्त रहेको चर्चाकाबीच हुन लागेको यस भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अरू पनि महत्त्वपूर्ण भेटवार्ता गर्दैछन् । मोदीसँगको भेटवार्ताअघि प्रधानमन्त्री ओलीले भुटानी समकक्षी छिरिङ तोब्गेबीच भेटघाट तय भएको छ । साथै प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update