यातायात व्यवसायीहरूले दसैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । बाढीपहिरोका कारण सडक बिग्रिएको र टिकट काटेको समयमा गाडी उपलब्ध गराउन नसक्ने देखिएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ रोक्ने अवस्थामा पुगेका हुन् ।
यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।
राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।
अविरल वर्षासँगै गएको बाढी पहिरोका कारण चार दिनदेखि रोकिएका सवारी साधनहरू सोमबारदेखि गन्तव्यका लागि छुटेको थिए । पृथ्वी राजमार्गमा गएको पहिरोका कारण ती सवारी साधनहरू रोकिएका थिए । यसबाहेक पश्चिम नवलपरासीको दुम्कीबासमा गएको पहिरोका कारण त्यहाँ पनि सडक अवरुद्ध भएको थियो ।
अहिले छुटेका गाडी घटस्थापनादेखि टिकट काटेकालाई पुर्याउन गाडीहरू फर्किएर आउनै नभ्याउने उनको भनाइ छ । त्यसैले टिकट नै बिक्री गर्नुपर्ने अवस्था रहेको सिटौला बताउँछन् । यद्यपि यसबारे दिउँसो महासंघको बैठक बसेर निर्णय गरिने उनले जानकारी दिए ।
उनले देशभर यातायातको रुट परमिट खुला भएको सन्दर्भमा सम्बन्धित सवारीसाधन नै आइपुग्नुपर्छ भन्ने नरहेको उल्लेख गरे ।
शुक्रवारदेखि आएको बाढीपहिरोले काठमाडौँ उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति पुर्याएको छ । बाढीपहिरोले सडक र पुलमा समेत क्षति पुगेको छ । जसका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ ।