NRN
आर्सनलको स्पष्ट ७ अंकको अग्रता


लन्डन । शीर्ष दौडमा रहेको म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा लन्डन क्लब आर्सनलले आफ्नो खेलमा जित निकाल्दै इंग्लिस प्रिमियर लिगमा स्पष्ट ७ अंकको अग्रता लिन सफल भएको छ । आर्सनलले घरेलु टोली ब्राइटन होभ अल्वियोनलाई ४–२ ले पराजित गर्दै शीर्षस्थानमा ७ अंकको अग्रता बनाउँदै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । 
दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, इडुआर्ड एनकेइटा र गाब्रियल मार्टिनेलीले गोल गरे । ब्राइटनका काओरु मितोमा र इभान फर्गुसनले गोल फर्काए । खेलको दोस्रो मिनेटमा नै बुकायो साकाको गोलबाट आर्सनलले १–० को अग्रता लिन सफल भयो । ३९औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४७औं मिनेटमा इडवार्ड एनकेइटाले गोल गरेपछि आर्सनल खेलमा ३–० को आरामदायी स्थितिमा अघि बढ्यो ।

६५औं मिनेटमा कोओरु मितोमाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । उनले पास्कल ग्रसको पासमा गोल गर्न सफल भएका थिए । ७१औं मिनेटमा ओडेगार्डको पासमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनलाई ४–१ ले अघि बढाए । ७७औं मिनेटमा इभान फर्गुसनले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए । ८९औं मिनेटमा काओरु मितोमाले गोल गरे पनि भीएआरबाट गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो । यस जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई ७ अंकले पछि पारेको छ । आर्सनलको १६ खेलबाट ४३ अंक पुगेको छ । समान खेलबाटै सिटीको ३६ अंक छ । पराजित ब्राइटन २४ अंक जोडेर आठौं स्थानमा रहेको छ । 


शनिबार राति नै सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनललाई पछ्याइरहेको म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिएको छ । सिटीका एर्लिङ ब्राउट हालान्डले गोल गर्दा एभर्टनका डेमाराई ग्रेले बराबरी गोल फर्काए । यस बराबरीसँगै सिटीको १६ खेलबाट ३६ अंक पुगेको छ । एभर्टन १५ अंक जोडेर १६औं स्थानमा छ । प्रिमियर लिगकै अर्काे खेलमा म्यानचेस्ट युनाइटेडले वल्भ्सलाई १–०, क्रिस्टल प्यालेसले बर्नमाउथलाई २–० र फुलहमले साउथ ह्याम्टनलाई २–१ ले पराजित गर्दा न्युक्यासल  लिड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 


 

प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update