प्रधानमन्त्री केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज अपराहन्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
असोज १० देखि १२ गतेसम्म परेको वर्षाले काठमाडौँ उपत्यकासहितका जिल्लामा जनधनको ठुलो क्षति भएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलनमार्फत राहत प्याकेज घोषणा गर्न लागेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बाढीपहिरो र डुबानबाट भएको क्षतिको विवरणसमेत सार्वजनिक गर्ने र राहत प्याकेज घोषणा गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली सोमबार अमेरिका भ्रमण सकेर स्वदेश फिर्ता भएलगत्तै मन्त्रिपरिषद् बैठक राखेर विपत्तिमा निधन भएका परिवारका सदस्यलाई कार्यविधि अनुसार जनही दुई लाखका दरले सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।
त्यसबाहेक प्रधानमन्त्रीसहित मन्त्रीहरूको १ महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित आधा राष्ट्रिय झण्डै झुकाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।