अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त, सचिव, सहसचिव, उपसचिव लगायत कर्मचारीहरूले तलबबापत बाढी-पहिरो पीडितलाई सहयोग गर्ने भएका छन् ।
प्रमुख आयुक्त/आयुक्तहरूले आफ्नो सात दिनको तलब बाढी-पहिरो पीडितको सहयोगका लागि दिने भएका हुन्। अख्तियारमा प्रमुख आयुक्त एक जना र चार जना आयुक्तहरू छन्।
बुधबार अख्तियारका प्रवक्ता नरहरि घिमिरेले एक विज्ञप्ति जारी गर्दै पीडितहरूलाई केही दिनको तलबबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
त्यस्तै, सचिवले पाँच दिनको, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको दुई दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम प्रदान गर्ने भएको हो ।उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने अख्तियारले निर्णय गरेको छ ।
गत शनिबार आएको बाढी-पहिरोले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ लगायत जिल्लामा असर परेको छ। बुधबारसम्म २२८ जनाको मृत्यु भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । २५ जना अझै बेपत्ता छन् ।
अहिलेसम्म तीन वटै सुरक्षा निकायले १४ हजार ८०२ जना भन्दा बढी मानिसको उद्धार गरेको छ ।