- राजन घिमिरे, सिड्नी
नेपालीहरूको बाक्लो बसोबास रहेको सिड्नीको रकडेलमा नेपाली मुलका ब्यबसायीले सन्चालन गरेको कन्ट्री फ़्रेस रगडेलको एक भब्य कार्यक्रमका बिच शुभारम्भ भएको छ । युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) द्वारा सन्चालित सो ब्यवसायको अष्ट्रेलियाको ठूलो राज्य न्यू साउथ वेल्सका प्रिमिएर ( मुख्य मन्त्री ) क्रिस मिन्स,न्यू साउथ वेल्सका सांसद् तथा मन्त्री स्टेफेन क्याम्पर लगायतले उद्घाटन गरेका हुन् । सिड्नीका मुख्य मन्त्रीले यसरी नेपालीले सन्चालन गरेको ब्यबसायप्रति चासो दिएर उद्घाटन गरेको अष्ट्रेलियामा नै यो पहिलो पटक हो ।
उद्घाटन कार्यक्रममा न्यू साउथ वेल्सका प्रिमिअर क्रिस मिन्स, सांसद एवं साना व्यवसाय, भूमि तथा सम्पत्ति, बहुसांस्कृतिक मामिला, र खेलकुद मन्त्री स्टेफन क्याम्पर, न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्य दूत सञ्जीव शर्माको विशेष उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा न्यू साउथ वेल्सका प्रिमिअर क्रिसले म्याक्सलाई आफुले लामो समयदेखि चिनेको बताए । उनले भने - "म्याक्सले जे गर्छन्, मनबाटै गर्छन् र यसै कारण उनी सफल छन्।" उनले यस क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि यो व्यवसाय खोलिदिएकोमा म्याक्सलाई धन्यवाद पनि दिए । त्यस्तै, मन्त्री स्टेफन क्याम्परले म्याक्सको उदार र परोपकारी स्वभावको चर्चा गर्दै समुदाय र ब्यबसाय दुबैको लागि उनी उत्तम ब्यक्ति भएको बताए ।
कार्यक्रममा नेपाली वाणिज्य दूत सञ्जीव शर्माले म्याक्सको संघर्षलाई नजिकबाट देखेको बताउँदै अहिलेको सफलताका लागि म्याक्सलाई बधाई दिए। विशेष अतिथिको रूपमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, न्यू साउथ वेल्सका प्रतिष्ठित सामुदायिक नेताहरू, रकडेल तथा आसपासका तीन सय भन्दा बढी स्थानीय व्यवसायी, उद्यमी, र बासिन्दाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा मन्तब्य राख्दै ब्यबसायी म्याक्सले आफुलाई यो स्थानसम्मा ल्याउन सहयोग पुर्याउने समुदायका अगुवा, परिवारजन, ब्यबसायिक सहयात्रीहरु लगायतलाई धन्यवादसहित मायाको चिनो प्रदान गरेका थिए ।
केही वर्षदेखि लोकप्रिय बन्दै गएको एभरेस्ट बुचरीलाई विस्तार गर्दै म्याक्स बाबुले यो ब्यबसाय सन्चालनमा ल्याएका हुन् । एनआरएन अभियानदेखि युवा र विद्यार्थीका लागि काम गर्दै आएका म्याक्स एक सामाजिक स्वयंसेवीका रूपमा पनि परिचित छन्। कन्ट्री फ्रेस रगडेलका ब्यबस्थापक जीवन प्रसाईंका अनुसार यहाँ सबै प्रकारका किराना सामानहरू, स्थानीय ग्राहकहरूका मनपर्ने उत्पादनहरू, ताजा मासु सहित एकै ठाउँमा सबै सामानहरु उपलब्ध छन् । उनले समुदायका ब्यक्तिहरुले गरेको सहयोग र साथका कारण आफ्नो ब्यबसायिक सफलता मिलेको भन्दै समुदायप्रति आभार समेत ब्यक्त गरेका थिए ।