प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् ।
विजयादशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई आह्वान समेत गरे ।
‘जो जहाँ छौ, पीडामा परेकाहरुको पीडा हराउनका लागि सहयोगी हातहरु बढाउन आग्रह गर्छु,’ उनले भने।
‘विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ। भारी मनकासाथ दसैंको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन,’ उनले भनेका छन्, ‘दसैंअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुप¥यो। कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।’
प्रधानमन्त्री ओलीले शुभकामना भिडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गरे ।
उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरे ।