राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म दशैंको टीका लगाइदिने भएका छन् । टीकाको कार्यक्रम राष्ट्रपति भवन शीतलनिवासमा हुनेछ ।
राष्ट्रपतिले अपराह्न ३:०० बजे देखि ३:३० बजेसम्म इच्छुक सम्माननीयहरू, उपप्रधानमन्त्रीहरू तथा मन्त्रीहरू, प्रदेश प्रमुखहरू, न्यायाधीशहरू, संघीय संसद्का सदस्यहरू, संवैधानिक निकायका पदाधिकारीज्यूहरू एवम् विशिष्ट महानुभावहरू तथा निजामती, जंगी, प्रहरीतर्फका अधिकृत स्तरसम्मका राष्ट्रसेवकहरूलाई टीका लगाइदिने कार्यक्रम रहेको छ ।
त्यसपछि अपराह्न ३:३० बजे देखि ५:०० बजेसम्म इच्छुक सर्वसाधारणहरूलाई पनि राष्ट्रपतिले टीका लगाइदिनेछन् । टीका लगाउन आउँदा मर्यादित पोसाक लगाउन भनिएको छ । टीका थाप्न आउनेका लागि प्रवेशद्वार नं. १ मा व्यवस्था मिलाइने छ ।
राष्ट्रपति पौडेल आफूले भने ९४ वर्षीय दाजु डुण्डीराज पौडेल र गुरु पुरोहितबाट टीका लगाउने छन् । राष्ट्रपति पौडेलले ११ः३६ बजेको शुभसाइतमा शीतल निवासमा टीका र जमरा ग्रहण गर्ने कार्यक्रम छ ।