सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय सभापति रवि लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासमा पेश गरिने भएको छ ।
शनिबार सरकारी बिदा हुने भएकाले आज आइतबार उनलाई अदालत उपस्थित गराउन लागेको प्रहरीले बताएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई अदालतमा उपस्थित गराउँदैछ ।लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि दाहालको इजलासमा पेश हुने सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ। उनी विरुद्ध सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते नै जाहेरी दिएका थिए । उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेका थिए ।
शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा ल्याइएको थियो ।
संसदीय छानविन समितिले कारबाही सिफारिस गरेपछि लामिछाने विरुद्ध ८ महिना अघि परेको जाहेरी प्रहरीले अघि बढाएको हो ।
हिरासतमा राखेर प्रहरीले अनुसन्धान अघि बढाउने तयारी गरिरहेका बेला आइतबार पनि रास्वपा कार्यकर्ताले भने आन्दोलन गर्ने बताएको छ ।