NRN
अमेरिकामाथि नेपालको क्लिनस्वीप

नेपालले घरेलु टोली अमेरिकाविरूद्धको तीन खेलको टी-२० सिरिज क्लिनस्विप गरेको छ । आज बिहान भएको तेस्रो टी-२० खेलमा ८ विकेटको जितसँगै नेपालले सिरिज ३-० ले आफ्नो पक्षमा परेको हो ।

सोमबार अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी रंगशालामा टस हारेर पहिले बलिङ गरेको नेपालले जितका लागि १५७ रनको लक्ष्य पाएको थियो । १५७ रनको लक्ष्य पाएको नेपालले २ विकेटको क्षतिमा १८.४ ओभरमा पूरा गर्‍यो ।

नेपालको जितमा कुशल मल्लले नटआउट ४४ रन र कुशल भुर्तेलले नटआउट ४० रन जोडे । 

ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे । उनले ५० रन जोड्ने क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर अनिल साहले १३ रन मात्र जोड्न सके ।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन जोडे । 

नेपालका सोमपाल कामीले ३, रिजन ढकाल र ललित राजवंशीले समान १/१ विकेट लिए ।

यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ । लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update