सोमबार सेयर बजार (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ । आइतबार ४७.४४ अंक र सोमबार ५७.९९ अंक गरी दुई दिनमा नेप्से १०५.४३ अंकले घटेको हो ।
आज २.१४ प्रतिशतले घटेर २६३९.९२ विन्दुमा बन्द भएको छ ।
गत कारोबार दिन अर्थात् आइतबार आठ अर्ब १८ करोडमा भएको कारोबार यसदिन पाँच अर्ब ९० करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा दुई अर्ब २८ करोड रूपैयाँ कमी आएको हो ।
आज ३१९ वटा धितोपत्रको एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच भएको छ ।
सोमबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ वटाको घटेको छ । यसदिन विन नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ८६६ रूपैयाँ कायम भएको छ ।
यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.८२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ९१४ रूपैयाँ ८० पैसा पुगेको छ ।
यस्तै, ङादी ग्रुप पावरको मूल्य सर्वाधिक ९.२० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४७४ रूपैयाँमा झरेको छ ।
गुडविल फाइनान्सको मूल्य ५.६५ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३७ रूपैयाँ कायम भएको छ ।
सोमबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको प्रतिकित्ता मूल्य ८५५ रूपैयाँमा २२ करोड तीन लाखको सेयर कारोबार भएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २.६२ प्रतिशत घटेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ४७४ रूपैयाँमा १७ करोड ७६ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले घटेको छ भने दोस्रोमा अन्य समूहको परिसूचक २.३४ प्रतिशतले घटेको छ ।