ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरिएको छ ।
मितेरी सहकारीको बचत रकम हिनामिना गरेको आरोप लागेकी उपसभापति गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ र एक अर्का आरोपी ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न सीआईबीले इन्टरपोललाई सिफारिस गरेको हो ।
मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ । सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए ।
कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सो सहकारीको प्रबन्ध निर्देशक हुन् । धनराजकी पूर्वश्रीमती ज्योति गुरुङ २०५७ सालदेखि सहकारीमा कार्यरत थिइन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशङ्का गरिएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादव विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ ।