NRN
सेनाले यसरी मनायो संयुक्त राष्ट्रसंघको ७९ औँ वार्षिकोत्सव

नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवस २०२४ मनाएको छ । 

विश्वभर शान्ति, एकता, मैत्री र मेलमिलाप प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसंघको ७९ औँ वार्षिकोत्सव बिहीबार काठमाडौंस्थित सैनिक मुख्यालय जंगी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च-पास र विभिन्न समुदायको नृत्य प्रदर्शन गरिएको थियो भने तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुतिसमेत रहेको थियो ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तर्फबाट अहिले ६ हजार १४१ जना शान्ति मिसनमा खटिएका छन् । नेपाली सेनाको मात्रै ५ हजार ९१८ जना, सशस्त्र प्रहरी बलका १९५ जना र नेपाल प्रहरीका २८ जना शान्ति सेनामा खटिएका छन् ।

लेबनन, सिरिया, कंगो, इराक, यमन, दक्षिण सुडान लगायत ११ वटा मिसनमा नेपाली शान्ति सैनिकहरू खटिएका छन् ।

संयुक्त राष्ट्रसंघको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो । नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो । राष्ट्रसंघको सदस्य भएको नेपालले तीन वर्षपछि शान्ति सैनिक परिचालन सुरु गरेको थियो ।अहिलेसम्म ४१ राष्ट्रका ५२ मिसनमा एक लाख ७१ हजार भन्दा बढी शान्ति सैनिक खटिइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update