नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको रिट न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेसी तोकिएको छ।
अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा बिहीबार पहिलो सुनुवाइ हुन लागेको हो । यसअघि उक्त रिट दरपिठ भएको थियो । दरपिठ इजलासले बदर गरेर दर्ता गर्न आदेश गरेपछि मंगलवार रिट दर्ता भएको थियो ।
सर्वोच्चका अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपीठ न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि आज पहिलो सुनुवाइ हुन लागेको हो ।
विभिन्न भ्रष्टाचारका घटनामा आरोपित भई अदालतमा मुद्दा विचाराधीन रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले एमालेको केन्द्रीय कार्यालय बनाउन भन्दै गत असोज २५ गते काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा रहेको १० रोपनी १४ आना जग्गा दान गरेको घोषणा गरेका थिए । सोही दिन प्रधानमन्त्री ओलीको दम्पती र जग्गादाता गुरुङ दम्पतीले संयुक्त रूपमा एमाले मुख्यालय भवनको शिलान्याससमेत गरेका थिए ।
मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठूलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै ज्ञानकुमार बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
सर्वोच्चले आज गर्ने आदेशले उक्त जग्गाको भविष्य निर्धारण गर्ने छ ।