NRN
सभापति देउवा भन्छन्, सरकारले राम्रो काम गरेको छ, कांग्रेस सन्तुष्ट छ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले हनिमुन डेजमा सरकारले राम्रो काम गरेको बताए । सभापति देउवाले सबै किसिमबाट सरकारले गति लिएको बताए । विपद् व्यवस्थापन र राहत, उद्धारमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको उनले बताए । राहत तथा खोजी उद्धारमा सरकारले आफ्नो हिसावले सुरक्षाकर्मीहरू तैनाथ गरी व्यवस्थापन गरेको बताए । 

उनले भने, ‘अब मलाई त राम्रो लाग्छ, धेरै कुराले गर्दा राम्रो छ । सय दिनलाई मैले त राम्रो मानेको छु । सय दिनलाई हनिमुन डेज भन्छन् नि । राम्रो काम गरेको छ । राम्रो काम गरिरहेको छ, के भएको छ त ? गति पनि लिएको छ । बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ । मान्छे पठाउनुभएको हो, गरेको हो । हेलिकप्टरबाट पनि उद्धार गरेको हो । ठिक छ, त्यस्तो केही छैन, सबैको राम्रो छ सय दिनको काम । दुई वर्ष उहाँले चलाउने भनेको हो, डेढ वर्ष मलाई भनेको हो ।’

वर्तमान सरकार पूरा कार्यकाल जाने र एमाले—कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताए ।

सभापति देउवाले सानातिना समस्या आफ्नै पार्टीभित्र पनि भइरहने भन्दै अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्याहरू आउनु स्वाभाविक रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update