यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका एक जना जवान प्रहरीको हिरासतमा मृत फेला परेका छन् ।
दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परी जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालिग करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनी वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा थिए ।
गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान ५ बजे शव फेला परेको प्रहरीको भनाइ छ ।
दशैंको फूलपातीको दिन भालुवाङमा रहेको सशस्त्र प्रहरीका दुई जनाले दुई बालिकालाई बलात्कार गरेको अभियोगमा उनीसहित दुई सशस्त्र प्रहरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।
स्थानीयले शक्तिको आडमा आरोपीलाई जोगाउन खोजेको भन्दै लगातार १५ दिन आन्दोलन गरेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।