दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलमा आज (बुधबार) बंगलादेश र नेपाल भिड्दै छन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ पौने सात बजे सुरु हुनेछ । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशाला जानेछन् ।
काठमाडौं महानगरपालिकाले आज हुने फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ ।
दशरथ रंगशालामा टिकटको बिक्री सकिसकेको छ । अनलाइनबाट बिक्री गरिएको टिकट रोकेर अखिल नेपाल फुटबल संघ (एन्फा) ले भौतिक रूपमै टिकट बिक्री गरेको थियो । टिकट किन्न बुधबार बिहानैदेखि मानिसहरू लाइनमा लागेका थिए ।
भारतविरूद्धको सेमिफाइनलमा क्षमताभन्दा बढी दर्शक छिराएका कारण सुरक्षा खतरा बढेको भन्दै एन्फाले माउन्ट एभरेस्ट प्रालिसँगको सम्झौता रद्द गरेको थियो ।
सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।