NRN
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । 

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।

गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए । 

महानिर्देशक इन्जिनियर अधिकारीले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए । सो कामको योजना करिब ८ महिना अघिदेखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि उनले आग्रह गरे । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनैपनि खालको रणनीति वा राजनीतिक नभएको महानिर्देशक अधिकारीको स्पष्टीकरण दिए । उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए ।

हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ । महानिर्देशक अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिब २ अर्ब नोक्सान पर्ने भएपनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम सुरु गर्नुपरेको उल्लेख गरे । 

समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पारे । ट्याक्सी वे निर्माण पछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताए । 

प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ ।

महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराए । उनले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिब ३ वटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिए । 

सरकारले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालनका लागि त्यसको टिकट दर सस्तो उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update