कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
मंगलबार जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम अपचलनको अनुसन्धानका लागि प्रहरी र सरकारी वकिलले २५ दिनको म्याद माग गरेको थियो । तर अदालतले १० दिनको मात्रै दिएको हो ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान गरिरहेको हो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिएपनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।
यस्तै, यस कसुरमा प्रहरी हिरासतमा रहेका पूर्व डिआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाईंलाई पनि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
यस मुद्दामा पूर्व डिआइजी छविलाल जोशीलाई प्रहरीले असोज ६ गते पक्राउ गरेको थियो । असोज १४ गते लिला पछाईंलाई पक्राउ गरेको थियो । खनाललाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कात्तिक ९ गते पक्राउ गरेको थियो।
तिहारको सार्वजनिक बिदाका कारण म्याद थप गर्न नमिलेकोले आज म्याद थपका लागि उनीहरूलाई अदालत लगिएको थियो ।
लामिछानेलाई प्रहरीले बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा पनि अनुसन्धानका लागि लग्ने तयारी गरिरहेको छ ।