अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।
बिना अनुमति र बिना जानकारी जापान गएको विषयमा विवादमा तानिएपछि मन्त्री अधिकारीले राजीनामा दिने तयारी गरेका हुन् । उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए ।
आफ्नो राजीनामाको विषयमा उनले पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेका छन् ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए ।
मन्त्री अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट निर्वाचित एमालेका सांसद हुन् ।