आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ । नेपालले बिहीबार कुवेतलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
यसअघि नेपालले बुधबार पहिलो खलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो ।
बिहीबार युएईको अजमानस्थित द सेभन्स रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३० रन बनायो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन जोडिन् । रनआउट हुनुअघि उनले ३८ बलमा ४ चौका प्रहार गरिन् ।
ओपनर सना प्रविनले २५ रन, ज्योत्स्निका मरासिनीले २३ रन र अलिसा कुमारी यादवले १५ रन बनाए । बाँकी ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
कुवेतकी आयसा एकबालले दुई विकेट लिइन्।
नेपालले दिएको १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै अलआउट भयो ।
कुवेतका लागि ओपनर जीफा जिलानीले सर्वाधिक १२ रन जोड्दा अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट भए ।
नेपालका रचना चौधरी र सीमा केसीले २-२ विकेट, पूजा महतो, कृष्मा गुरुङ र मनिषा उपाध्यायले १-१ विकेट लिए ।
अब नेपालले तेस्रो खेलमा शनिबार युएईसँग खेल्नेछ । फेरि नेपालले थाइल्यान्ड, कुवेत र युएईसँग दोस्रो लेग खेल्नेछ ।