गण्डकी प्रदेश सभा सदस्य राजिब गुरूङ (दीपक मनाङे) ले आफूले मोबाइल अफ गरी बसेको बताएका छन् ।
उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफूलाई तारन्तार फोन आइरहेकाले मोबाइल बन्द गरेको उल्लेख गरेका हुन् ।
गत मंगलबार सर्वोच्च अदालतले मिलन गुरूङ ‘चक्रे मिलन’ को हात काटेर ज्यान मार्ने कसुरमा दोषी ठहर गरेको थियो ।
सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत (हाल उच्च अदालत)को फैसलालाई सदर गर्दै मनाङेलाई उक्त घटनामा दोषी ठहर गरेको हो । दोषी ठहर भएसँगै उनी सम्पर्कबिहीन भएका हुन् ।
दोषी ठहर गरेपनि मंगलबार नै सर्वोच्च अदालतले संक्षिप्त फैसला तयार भने गरेको थिएन । फैसला संक्षिप्तमा आउने हो वा पूर्णपाठ नै आउने हो भन्ने अझै यकिन भइसकेको छैन।
यसैबीच प्रहरीले भने उनको खोजी गरिरहेको छ ।
पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।