NRN
मानव तस्करी प्रकरणमा विवादित कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइँदै

जापान भ्रमणका क्रममा मानव तस्करी प्रकरणमा विवादित बनेका कोशी प्रदेशका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई काठमाडौं ल्याइने भएको छ ।

उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउन लागिएको हो ।

पूर्वमन्त्री अधिकारी आज आफैँ प्रहरीमा आत्मसमर्पण गर्ने तयारीमा समेत थिए ।

प्रहरीका अनुसार पूर्वमन्त्री अधिकारीलाई नियन्त्रण लिन काठमाडौंबाट विशेष प्रहरीको टोली विराटनर पुगेको छ ।  काठमाडौं प्रहरीका अनुसार अधिकारीलाई पक्राउ गरी पठाउन सम्बन्धित जिल्लालाई पत्राचार गरिएको थियो ।

मानव बेचबिखन तथा ओसारपसारका ठुला घटनामा अनुसन्धान गर्न ब्युरो नै बनाइएको भएपनि यो प्रकरणमा जिल्ला प्रहरी कार्यालय काठमाडौंलाईअघि सारिएको छ ।

मानव तस्करको योजनाअनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो ।

शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अधिकारीले भने आफूलाई फसाइएको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update