आज (बुधबार) शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।
आजको कारोबारमा नेप्से १४ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार सात सय ३४ दशमलव ८३ मा आएको छ । बुधबार नेप्से घटे पनि कारोबार रकम भने केही बढेको छ ।
मंगलबार ७ अर्ब ८५ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ९१ करोडको किनबेच भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६ करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३०८ वटा धितोपत्रको एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच भएको हो।
बुधबार ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ । यस्तै, सात कम्पनीको मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैङ्क र सृजनशील लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
सप्तकोशी डेभलपमेन्ट बैंक र श्रीजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावर, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य दुई हजार ७८९ रूपैयाँ १० पैसामा झरेको छ ।
१०.२५% केबिएल डिबेञ्चरको मूल्य ७.७४ प्रतिशतले घटेको छ ।
बुधबार जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।
कम्पनीको प्रतिकित्ता मूल्य ९७९ रूपैयाँ ९० पैसामा ३३ करोड ८६ लाखको सेयर कारोबार भएको छ ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा पोखरा फाइनान्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता ७६१ रूपैयाँ ६० पैसामा २५ करोड ८९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ वटाको घटेको छ ।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.२० प्रतिशतले बढेको छ भने बैंकिङ समूहको परिसूचक सर्वाधिक १.३७ प्रतिशतले घटेको छ ।