NRN
उच्च उतारचढावबीच १४ अंकले बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्सेमा उच्च उतारचढाव देखिएको छ । सेयर बजार परिसूचक (नेप्से) १४ अंकले बढेको छ ।

नेप्से बिहीबार बजार बन्द हुदाँ १४ अंकले बढेर २७४८ विन्दुमा पुगेको हो ।

कारोबारको अन्तिम समय एकै पटकमा ६ अंकले बढेर दोहोरो अंकको वृद्धि सम्भव भएको थियो । बिहीबार बढ्दा २७६२ मा पुगेको नेप्से घट्दा भने २७३० सम्म ओर्लिएको थियो।

बिहीबार २ करोड १६ लाख ६० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यो साता समग्रमा सेयर बजार १० प्रतिशतले बढेको छ । 

बुधबार बजारमा सात अर्ब ९१ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार १० अर्ब ३२ करोड रूपैयाँको कारोबार भएको हो।

यसदिन जलविद्युत् र विकास बैंक समूहमा सबैभन्दा धेरै एक प्रतिशत बढीको वृद्धि देखिएको छ । वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापारमूलक समूहका परिसूचक भने घटेका छन् ।

तीन सय २१ स्क्रिप्सको कारोबार भएकोमा दुई सय २३ वटाको मूल्य बढेको छ भने ९६ वटाको मूल्य घटेको छ ।

गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अप्पर हेवा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । रावा इजर्नीको सेयर मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशतले घटेको छ ।

जानकी फाइनान्सको सबैभन्दा धेरै करिब ३४ करोड २४ लाख रूपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update