NRN
आफूविरूद्ध श्रृंखलाबद्ध रूपमा 'कुप्रचार' गरेको भन्दै बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेसकै प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईविरूद्ध उजुरी दिएका छन् ।

आफूविरूद्ध बजगाईले श्रृंखलाबद्ध रूपमा 'कुप्रचार' गरेको भन्दै मन्त्री पाण्डेले सचिवालयका सदस्यमार्फत कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् ।

पार्टी अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार उजुरी दिएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।

उजुरीमा आफू मन्त्री नियुक्त भएदेखि नै कांग्रेस गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका पर्यटन व्यवसायी बजगाईले श्र‌ृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाइरहेको मन्त्री पाण्डेले उल्लेख गरेका छन् । 

बजगाईले मन्त्री पाण्डेलाई लक्ष्य गर्दै एक क्यासिनो इजाजत दिँदा भ्रष्टाचार गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । उक्त स्टाटसलाई लिएर समाचार पनि प्रकाशित भएका थिए।

समाचार सार्वजनिक भएलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरूद्ध कानुनी बाटो अपनाउने बताएका थिए ।

बजगाईले कात्तिक २७ गते सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत आफूमाथि आधारहीन आरोप लगाएको र अराजक कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गर्दै मन्त्री पाण्डेले पार्टीमा उजुरी दिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update