एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोलीले भारतको कर्नाटक यू-१९ टोलीलाई दोस्रो खेलमा पराजित गरेको छ ।
शुक्रबार मुलपानीमा भएको खेलमा नेपाली टोलीले ७ विकेटको जित निकालेको हो । जितसँगै पाँच खेलको सिरिजमा एक एकको बराबरी भएको छ ।
कर्नाटकले दिएको १२२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा २४.५ ओभरमा पूरा गर्यो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले ५२ रन जोड्ने क्रममा ७६ बलमा ६ चौका प्रहार गरे भने अर्का ओपनर मयन यादव ३२ रनमा आउट भएका थिए ।
नरेन भट्ट १४ रन र सन्तोष यादव शून्यमा पेभिलियन फर्के । उत्तम मगरले नटआउट १२ रन जोडे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्नाटकलाई नेपालले ३८.१ ओभरमा १२१ रनमा अलआउट गर्यो।
कर्नाटकका लागि ओपनर प्रथिकले ३७ रन र रिशव अपाचुले ४० रन बनाए । उसका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा नेपालका कप्तान हेमन्त धामी र नरेन साउदले चार चार विकेट लिन सफल भए । हेमन्तले ५.१ ओभरमा १ मेडन राख्दा १६ रन दिए। नरेनले १० ओभरमा ३ मेडन राखे भने २० रन खर्चिए । दयानन्द मण्डल र सन्तोष यादवको नाममा एक एक विकेट रह्यो ।
यसअघि बुधबार मुलपानी मैदानमा भएको पहिलो खेलमा नेपाली टोलीमाथि कर्नाटकले एक विकेटको जित निकालेको थियो ।
अब नेपाल र कर्नाटकबीच मंसिर २, मंसिर ४ र मंसिर ६ मा बाँकी खेल हुनेछन् ।
नेपालले एसिया कपको तयारीक लागि कर्नाटकसँग पाँच खेलको एकदिवसीय सिरिज खेलेको हो । यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ । एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ । एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन् ।