गृहमन्त्री रमेश लेखकले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
कैलालीको धनगढीमा मंगलबार शुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री लेखकले स्थानीय तहको उपनिर्वाचनलाई शान्तिपूर्ण, निष्पक्षय र स्वतन्त्र सम्पन गर्न अहिलेदेखि नै तयारी आवश्यक रहेको बताए ।
गृहमन्त्री लेखकले भने, ‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो, यसको रक्षा र सुदृढीकरण गर्नु हामी सबैको दायित्व हो ।’ उनले लोकतन्त्र मर्यादित व्यवस्था भएको बताउँदै लोकतन्त्रमा अनुशासन अनिवार्य रहेको उल्लेख गरे ।
गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाहलगायत मन्त्री, प्रदेश सभा सदस्य सुरक्षा निकायका प्रमुख र मन्त्रालयका कर्मचारीको सभागिता रहेको छ ।
गृहमन्त्री लेखकले देशमा बहुलवादसहितको शासन व्यवस्था रहेको बताउँदै यसलाई व्यवस्थित र सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिए ।
लामो समयपछि सुदूरपश्चिम प्रदेशमा सुरक्षा गोष्ठीको आयोजना भएको स्मरण गर्दै उनले अब औपचारिकताभन्दा पनि परिणाम आउने गरी अगाडि बढ्ने बताए ।
प्रदेशका ९ वटै जिल्लाको सुरक्ष अवस्था, अपराध नियन्त्रण र कानुन कार्यान्वयनको अवस्थालाई आत्मसाथ गर्दै आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल हुने गृहमन्त्री लेखकले बताए ।
प्रदेशमा संविधान र कानुनबमोजिम नागरिकले सेवा पाउनु पर्नेमा उनले जोड दिए ।