मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेको छ । आज नेप्से ५१.११ अंकले घटेर २७०२.६५ विन्दुमा बन्द भएको छ ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
गत कारोबार दिन अर्थात् आइतबार ११ अर्ब ७२ करोडको सेयर कारोबार भएकोमा मंगलबार १० अर्ब ४६ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब २६ करोड रूपैयाँ कमी आएको हो ।
आजको कारोबारमा २० कम्पनीको शेयरमूल्य बढ्दा २२४ को घट्यो भने एक कम्पनीको स्थिर रहेको छ ।
आज ३१० वटा धितोपत्रको दुई करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच भएको हो ।
यस दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।
आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५ हजार २२६ रुपैयाँ पुगेको छ । यसका साथै नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य पनि ७.२७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १०६ रूपैयाँ पुगेको छ ।
यस्तै, मंगलबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । ङादी ग्रुप पावरको मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ५२० रूपैयाँमा ४६ करोड ६८ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा समृद्धि फाइनान्स रहेको छ । फाइनान्सको मूल्य ८.५५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ८०० रूपैयाँमा २९ करोड ८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.१७ प्रतिशतले घटेको छ भने दोस्रोमा जलविद्युत समूहको परिसूचक ३.०७ प्रतिशतले घटेको छ ।