NRN
रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक डाकेका हुन् ।

आज साँझ ५ः३० बजे बैठक बस्नेगरी केन्द्रीय सदस्यहरुलाई केन्द्रीय कार्यालय वनस्थली आउन निर्देशन दिइएको छ ।

उपसभापति अर्यालले केन्द्रीय कार्यालयमा उपस्थित १४ जना केन्द्रीय समितिका नेताको सुझावमा बैठक आह्वान गरेका छन् ।

बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । बैठकको एजेन्डा भने खुलाइएको छैन ।

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि रास्वपाले सरकारले प्रतिशोध राखेको भन्दै सडक आन्दोलन गरिरहेको छ । 

सभापति लामिछाने पक्राउ परेपछि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन । तथापि उपसभापति अर्यालले नै बैठकको अध्यक्षता गर्दै आएका छन् । 

आइतबार मात्रै रास्वपाले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय च:मतिबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update