पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौता नेपालमा संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको आधारशिला भएको बताएका छन् ।
विस्तृत शान्ति सम्झौता भएको दिनको स्मरणमा एक भिडिओ सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धीको पक्षमा एउटा नयाँ संकल्प आवश्यक रहेको र जरूरी पर्दा संविधानलाई अझ विकसित र परिमार्जित गर्दै जानुपर्ने बताएका हुन् ।
उनले संविधान सभाबाट संविधान बनिसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो त्योअनुसार नभएको भन्ने असन्तुष्टी जनतामा रहेको पनि बताए ।
उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक दिनको अवसरमा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै भनेका छन्, ‘शान्ति प्रक्रियाका बाकी काम पूरा गर्दै समृद्ध मुलुक निर्माणका लागि सहकार्य र एकताका साथ अघि बढ्न पनि सबैमा हार्दिक अपिल गर्दछु ।’
तत्कालीन नेपाल सरकार र विद्रोही नेकपा माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्ष पुरा भएको अवसरमा बुधवार एक भिडियो वक्तव्य जारी गर्दै प्रचण्डले जनअपेक्षा अनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग अपिल गरेका छन् ।
उनले आफ्नै नेतृत्वको सरकारको पालामा शान्ति प्रक्रियाको बाँकी काम टुङ्गोमा पुगेकोमा खुशी व्यक्त गरेका छन् ।
तत्कालीन सात दल र माओवादीबीच २०६२ साल मंसिरमा १२ बुँदे सहमति भएपछि १० वर्षे सशस्त्र विद्रोह अन्त्य भएको थियो ।
सोही सहमतिको जगमा २०६२/६३ मा १९ दिने जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढलेको थियो । ०६३ मंसिर ५ गते सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो ।