सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिवास गर्ने मापदण्ड आवश्यक नरहेको भन्दै बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजको माग राख्दै र्यालीसहित खबरदारी कार्यक्रमको आयोजना गरेका हुन् ।
र्यालीमा सहभागीहरूले ‘निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर’, ‘अन्यायपूर्ण सडक विस्तार खारेज गर ’, ‘मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन’ लगायत नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
सुमन सायमिलगायतको अगुवाइमा बागमती नदी किनारबाट र्याली सुरू गरेर माइतीघर मण्डल पुगेको हो ।
सर्वोच्च अदालतले नदी किनारबाट दायाँबायाँ २०-२० मिटर छाडेर मात्रै संरचना बनाउन पाइने आदेश दिएको थियो । त्यसविरूद्ध सरकार सर्वोच्च गएको छ ।