गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेकाे बताएका छन् ।
बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्री हेरफेर गर्नेबारे कुनै छलफल नभएको बताएका हुन् ।
उनले भने, ‘दुई दलकाे सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुई दलमा छलफल गरेर मात्र हुन्छ । तर अहिले सम्म त्यस्ताे छलफल भएकाे छैन । ’
उनले याे गठबन्धन २०८४ सम्मकायम रहने बताउँदै अबकाे १ वर्ष ८ महिना पछि वर्तमान प्रधानमन्त्री परिवर्तन भई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधननमन्त्री बन्ने उल्लेख गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई लिएर सत्ता गठबन्धनमा कुनै समस्या नरहेको स्पष्ट पारे ।
‘एमाले र कांग्रेसबीच कुनै पनि विषयमा कुनै पनि असमझदारी छैन, दुई दल मुख्य प्रतिस्पर्धी भएपनि मिलेर सरकार चलाइरहेका छाैं, २०८४ काे निर्वाचन सम्म सहज मिलेर जान्छाै,’ उनले भने,‘प्रधानमन्त्रीकाे चीन भ्रमणकाे मिति तय भइसकेकाे छ, चीन भ्रमण लगत्तै भारत भ्रमण गर्नुहुन्छ ।’
उनले गेटामा बन्ने सहिद दसरथ चन्द विश्वविद्यालयलाई सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताए ।
गृहमन्त्री लेखकले गृहजिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेकोसमेत जानकारी दिए ।