मेडिकल व्यवसायी दुर्गा प्रसाईं समर्थकले कोटेश्वर क्षेत्रमा प्रदर्शन सुरु गरेका छन् । शुक्रबार कोटेश्वर क्षेत्रमा भेला भएर उनीहरूले प्रदर्शन सुरु गरेका हुन् ।
सत्तारुढ नेकपा एमालेलाई चुनौती दिँदै मंसिर ७ मा काठमाडौंमा सभा गर्ने घोषणा गरेका प्रसाईं मंसिर ४ मा पक्राउ परेर साइबर ब्यूरो भोटाहिटीको हिरासतमा छन् ।
उनका समर्थकहरू अहिले कोटेश्वर क्षेत्रमा ‘नागरिक मुक्ति आन्दोलन’का नाममा राष्ट्रिय झन्डासहित भेला भएका छन् । प्रसाईंको समर्थकको भेला हुने भएपछि कोटेश्वर र बालकुमारी क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
ट्राफिक प्रहरी महाशाखाले पनि दरबारमार्ग, माईतिघर, बालकुमारी र जावलाखेल क्षेत्रमा विभिन्न कार्यक्रम हुने भएकाले उक्त स्थान हुँदै चल्ने सवारी साधनको आवागमनमा प्रभाव पर्ने भएकोले वैकल्पिक सडकको प्रयोग गर्न चालकहरूलाई अपिल गरेको छ ।